नियम ९३
बेरूजु फस्यौंट अनुगमन समिति
(१) कार्यालयले गरेको बेरूजु फस्यौंटको अनुगमन गरी बेरूजु फस्यौंट सम्बन्धी कामकारबाहीमा प्रभावकारिता ल्याउन देहाय बमोजिमको बेरूजु फस्यौंट अनुगमन समिति रहनेछः-
(क) मुख्य सचिव, नेपाल सरकार -अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय -सदस्य
(ग) महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय -सदस्य
(२) उपनियम (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मन्त्रालय, केन्द्रीय निकाय, विभाग वा कार्यालयले गरेको बेरूजु फस्यौंट सम्बन्धी कामकारबाहीको लेखाजोखा तथा मूल्याङ्कन गर्ने,
(ख) कायम भएको बेरूजु कम फस्यौंट गर्ने वा फस्यौंट नगर्ने मन्त्रालय, केन्द्रीय निकाय वा विभागको प्रमुखलाई समितिमा उपस्थित गराई छलफल गर्ने,
(ग) कायम भएको बेखूजु फर्स्यौट नगर्ने वा नगराउने कार्यालय प्रमुख र कर्मचारीलाई मूल्याङ्कनको आधारमा कारबाहीको लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने र यसरी दिइएको निर्देशन माथि कारबाही नगरेको पाइएमा लेखा उत्तरदायी अधिकृत उपर विभागीय कारबाहीको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(घ) सम्बन्धित मन्त्रालय, केन्द्रीय निकाय वा विभागलाई बेरूजु फस्यौंट गर्न आवश्यक निर्देशन दिने र बेरूजु फर्स्यौंट सम्बन्धी कारबाही शुरु गरे वा नगरेको वा असुल उपर गर्नु पर्ने भनी ठहस्याएको बेरूजु तोकिएको समयभित्र असुल उपर गरे वा नगरेको तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाए वा नपठाएको सम्बन्धमा अनुगमन गर्ने,
(ङ) बेरूजु फस्यौंट सम्बन्धी कामकारबाहीको सम्बन्धमा प्रत्येक तीन महिनामा सम्बन्धित मन्त्रालय, केन्द्रीय निकाय वा विभागबाट असुल उपर वा नियमित भएको र पेश्की बेरुजुको अङ्क समेत खुलाई प्रगति विवरण माग गरी अनुसूची-१४, अनुसूची-१६ र अनुसूची-१७ बमोजिमको ढाँचामा अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय संसदको सार्वजनिक लेखा समितिमा पेश गर्ने।
(३) उपनियम (१) बमोजिमको समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा आवश्यकता अनुसार बस्नेछ।
(४) उपनियम (१) बमोजिमको समितिको सचिवालय अर्थ मन्त्रालयमा रहनेछ।
(५) उपनियम (१) बमोजिमको समितिले समितिको सचिवालयको नियमित कामकाज गर्न र बेरुजु अङ्क बढी हुने केन्द्रीय निकायमा बेरुजु फछ्यौंट सम्बन्धी कार्य गर्नको लागि अर्थ मन्त्रालयको सहमतिमा स्वीकृत अस्थायी दरबन्दीमा विषय विशेषज्ञसहित आवश्यकता अनुसार करारमा कर्मचारी नियुक्त गर्न सक्नेछ।
(६) उपनियम (१) बमोजिमको समितिले आफ्नो बैठक सम्बन्धी कार्यविधि आफैँ निर्धारण गर्नेछ।